अब टालटुले नीतिले अर्थतन्त्रमा तत्काल सुधार सम्भव छैन : चन्द्र ढकाल


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : बिहिबार, असोज २५ २०८०


  • अब टालटुले नीतिले अर्थतन्त्रमा तत्काल सुधार सम्भव छैन : चन्द्र ढकाल
    nepal

    अबको पाँच दिनपछि हामीले महासंघको नेतृत्व सम्हालेको ६ महिना पूरा हुँदैछ । मैले महासंघको अध्यक्षता गरिरहँदा मुलुकमा आर्थिक संकट प्रस्टरुपमा देखिइसकेको थियो ।

    यो संकटमा आफूसँगै आफ्ना सानातिना व्यवसाय अब उठाउन सकिन्छ कि भन्ने आत्मबलचाहिँ बटुलिरहेका छौं । त्यसैले महासंघको कार्यकालको ६ महिनामा हामी व्यवसायीसँगै मुलुकको अर्थतन्त्रलाई उठाउने चासो र चिन्ताका कार्यक्रम गरिरहेका छौँ ।

    महासंघ ७७ वटै जिल्लामा पुगेको छ र यो परिवारका सदस्य करिब ६ लाख पुगेका छन् । उहाँहरुको आशा र भरोसालाई हामीले अगाडि बढाउनु छ । उहाँहरुको समृद्धि कुनै न कुनै रुपमा महासंघसँग जोडिएको छ । त्यसको जिम्मेवारी अध्यक्षको नाताले मेरो र हामी कार्यसमिति पदाधिकारीको काँधमा आएको छ ।

    म नेतृत्वमा आएलगत्तै निजी क्षेत्रलाई पनि अख्तियारले हेर्ने गरी राष्ट्रियसभाले विधेयक पारित गरेको थियो । हतार(हतार प्रधानमन्त्रीलगायत सबै राजनीतिक दलका अध्यक्षज्यूहरु तथा उच्च पदाधिकारीहरुसमक्ष पुग्यौं । यहाँहरु सबैको सदाशयताले यो व्यवस्था रोकिएको थियो तर हिजोदेखि हामीलाई कुनै जानकारी नै नदिई पुनस् यसमा छलफल सुरु भएको छ । यसले निजी क्षेत्रलाई फेरि हतोत्साही बनाएको छ ।

    त्यसपछि प्रधानमन्त्रीको भारत भ्रमणका समयमा निक्कै मिहिनेत गरेर नेपाल-भारत बिजनेस समिट गर्‍यौं । हामीले विदेशी लगानी बढाउने वाचा त गर्‍यौं तर गत आर्थिक वर्षमा अघिल्लो वर्षभन्दा ६० प्रतिशत कम अर्थात् करिब ७ अर्ब मात्र लगानी भित्रियो ।

    नेपालमा सञ्चालित प्रायस् बहुराष्ट्रिय कम्पनीले राम्रो नाफा कमाइरहँदा पनि नयाँ लगानी आइरहेको छैन । अमेरिकी सरकारले केही समयअघि सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले सरकारी ढिलासुस्ती पनि लगानी नआउनुको एउटा कारण औंल्याएको छ । कतै हाम्रो कार्यप्रणालीभित्र पनि विदेशीले यस्तै अप्ठ्यारो देखेका त छैनन् ? प्रधानमन्त्रीज्यू ! त्यसो हो भने सुधार आवश्यक छ ।

    यो अर्थतन्त्रमा निराशाको एउटा सूचक हो । यस्ता सूचक बढ्दै गएर अर्थतन्त्र मन्दीमा जाने हो । नेसनल ब्युरो अफ इकोनोमिक रिसर्चका अनुसार लामो समयसम्म आर्थिक गतिविधि सुस्त रहनु पनि आर्थिक मन्दी नै हो ।

    करिब डेढ वर्षदेखि सुस्ताएको अर्थतन्त्रमा कसरी मन्दी गहिरिँदै गयो केही घटनाक्रम सम्झन चाहन्छु ।

    यसपटकको बजेटमा पनि हामीले आशा गरेका थियौं, हामीले आग्रह गरेका थियौं, अर्थतन्त्र मन्दीमा गइसक्यो, सरकारको विशेष सहयोग बजेटमार्फत चाहिन्छ भनेर । केही दीर्घकालीन सकारात्मक प्रभाव पर्ने विषय बजेटमा समेटिए । जस्तो कि जग्गा र वातावरणीय प्रभावसम्बन्धी विषय । खनिजजन्य पदार्थको उत्खनन् र निर्यातका विषय । जसलाई हामीले स्वागत गर्‍यौं । तर, मन्दीलाई सम्बोधन गर्ने विषय बजेटमा समेटिने अपेक्षा हामीले गरेका थियौं, समेटिएन ।

    त्यसपछिको हाम्रो आशा मौद्रिक नीतिमा थियो । ठूलो अपेक्षासहित निजी क्षेत्रका तीनवटै संस्थाले संयुक्त सुझाव पेस गर्‍यौं । मौद्रिक नीति सार्वजनिक हुनुभन्दा एक महिनाअघि हामी र अन्तर्राष्ट्रिय वित्त निगमले एउटा प्रतिवेदन सार्वजनिक गरेका थियौं । जसअनुसार निजी क्षेत्रको अर्थतन्त्रमा योगदान ८१ प्रतिशत देखिएको थियो ।

    निजी क्षेत्रमा करिब ६० लाखले रोजगारी पाएका छन् । ९५ प्रतिशतभन्दा बढी निर्यात निजी क्षेत्रको छ । ८० प्रतिशतभन्दा बढी राजस्व निजी क्षेत्र र सर्वसाधारणले बुझाउने गरेका छन् । हामीलाई आशा थियो, यति ठूलो योगदान गरेको निजी क्षेत्रका प्रायस् संस्था एकै ठाउँमा आएर दिएको सुझाव कार्यान्वयन हुन्छ तर भएन ।

    मैले राम्रोसँग बुझेको छु, सबै पेसाको विशेष महत्व छ । डाक्टरले हाम्रो ज्यान बचाउने क्षमता राख्छन् । त्यसैले हामी डाक्टरलाई भगवान पनि भन्छौँ । तर, डाक्टरका लागि अस्पताल कि सरकारले बनाइदिनुपर्‍यो कि त निजी क्षेत्रले ।

    इन्जिनियरले अद्भूत संरचना निर्माण गर्न सक्छन् तर लगानी कि सरकारले गर्नुपर्‍यो कि त निजी क्षेत्रले । पत्रकारले समाजलाई सुसूचित गर्ने र डोर्‍याउने काम गर्न सक्छन् । तर, मिडिया कि सरकारले खोलिदिनुपर्‍यो कि त निजी क्षेत्रले ।

    सरकारले यसरी लगानी गर्न कहाँबाट पैसा ल्याउँछ त ! यो पनि एकपटक हेरौं ।

    सरकारी बजेटका मुख्य चार स्रोत हुन्छन् । राजस्व, विदेशी ऋण, विदेशी अनुदान र स्वदेशी ऋण । अब के मैले भनिरहनुपर्छ, यसमा सबैभन्दा बढी योगदान कसको छ । अवश्य राजस्वको छ । त्यो कहाँबाट आउँछ त ? त्यसैले म भन्न चाहन्छु( लगानी, उत्पादन, रोजगारी, राजस्व र आर्थिक वृद्धिको मुख्य स्रोत निजी क्षेत्र हो । तर, यो निजी क्षेत्र मौद्रिक नीतिमा पनि निराश भयो ।

    त्यसपछि गत वर्ष निजी क्षेत्रको विरोधका बाबजुद जारी भएको चालु पुँजी मार्गदर्शनमा संशोधन हुने भयो । हामी खुसी भयौं । संशोधन भएर पनि आयो । निजी क्षेत्रको आंशिक माग संशोधन पनि भयो । तर, त्यही दिन एकीकृत निर्देशनमा संशोधन भएर आयो । त्यसमा के भनियो भने एउटा साझेदार निष्क्रिय कर्जाको सूचीमा पर्‍यो भने अर्को पनि पर्‍यो । बक्यौता किस्ता तिरे पनि वाच लिस्टबाट हट्न ६ महिना लाग्छ । अब के भन्ने ?

    निजी क्षेत्रलाई किन सहुलियत नदिइएको भनेर सोध्यो भने ‘अहिले नै कुल गार्हस्थ्य उत्पादनको ९० प्रतिशत कर्जा गइसक्यो तर पनि आर्थिक वृद्धि भएन, त्यही भएर नदिएको’ भन्ने जवाफ आउँछ । हो, ९० प्रतिशत कर्जा प्रवाह भएर पनि किन वृद्धि भएन अध्ययन गरौं न ! यत्तिकै दोषजति उद्यमी व्यवसायीलाई दिएर उम्किन मिल्छ ?

    सहज हुँदा बैंक वित्तीय संस्थाले पनि कर्जा दिएकै हुन् । केन्द्रीय बैंकले पनि त्यो ऋण अनुगमन गरिरहेकै हो । अनि दोषजति उद्यमी व्यवसायीलाई मात्र लगाउनु राम्रो भएन । यसरी सबैका कारण सिर्जित समस्याको समाधान पनि सबै मिलेर निकालौं भन्ने मेरो भनाइ हो ।

    त्यो ९० प्रतिशतभित्र कति उत्पादनमूलक क्षेत्रमा र कति अन्यत्र गएको छ हेरौँ । आर्थिक वृद्धिका लागि के कर्जामात्रै आवश्यक हुन्छ वा अन्य पनि । सरकारले खर्च गर्नुपर्छ कि पर्दैन ?

    म अर्थशास्त्रीज्यूहरुलाई पनि भन्न चाहन्छु । यहाँहरुले निजी क्षेत्र भन्नेबित्तिकै घरजग्गा, सेयर र व्यापारमा मात्रै लगानी गरेका छन् भनेर लेख्ने, बोल्ने गर्नुभएको छ । के यी क्षेत्र चाहिँदैनन् र ! संसारभर नै पुँजी परिचालनको माध्यम सेयर बजार हो । फेरि अन्यत्र भएको लगानी पनि त हामीले हेर्नुपर्छ ।

    लगानीका अवसर नभएपछि कर्जाको केही रकम जग्गा र सेयरमा गएको होला । यहाँहरुले के बुझिदिनुपर्‍यो भने बजारमा माग नहुँदा अन्यत्र भएको लगानी पनि खुम्चिँदै गएको छ । बैंक वित्तीय संस्थाको कर्जा तिर्न समस्या भएर विस्तारै बैंकहरुको खराब कर्जा (एनपीए) बढ्दै गएको छ ।

    अहिले बिजुली उत्पादन भएको छ तर बेच्न पाइएको छैन । उत्पादनमूलक उद्योग सञ्चालन गर्न झन् कठिन छ । त्यसैकारण व्यापारमा रुचि हुन्छ । तैपनि हामी काम गरिरहेका छौं ।

    समस्या यथावत् नै रहेका बेला डेडिकेटेड फिडर र ट्रंकलाइनको विषय आयो । अध्ययन नगरी सबैले रकम बुझाउन सूचना जारी भयो । हामी फेरि सम्माननीय प्रधानमन्त्रीज्यूकहाँ गयौं । यहाँले तत्काल लाइन नकाट्न निर्देशन दिएपछि केही राहत भएको छ ।

    सम्माननीय प्रधानमन्त्रीज्यू ! यहाँले निजी क्षेत्रका समस्या समाधान गर्न प्रयास गर्नुभएको छ । हामी आभारी छौं र धन्यवाद पनि दिन चाहन्छौं ।

    हामीले यहाँकै उपस्थितिमा चीनमा पनि नेपाल-चीन लगानी सम्मेलन गर्‍यौं । सिसिपिआइटीले सम्मानसाथ नेपालसँग सहकार्य गर्ने गरी कार्यक्रम आयोजना गर्‍यो । लगानीका लागि रुचि पनि देखाएका छन् । तर, हामी उहाँहरुलाई बोलाएर के अफर गर्ने ?
    हाम्रा मूलभूत समस्या अझै समाधान भएका छैनन् । लगानीकर्ताले निक्कै सकस भोग्नुपरिरहेको छ ।

    प्रधानमन्त्री, मन्त्री, मुख्य सचिव, उपस्थित विद्धत वर्गसहित विकास साझेदार अन्तर्राष्ट्रिय संस्थाहरुलाई पनि म भन्न चाहन्छु, के निजी क्षेत्रलाई यसरी लखेटेर अर्थतन्त्र चल्छ ? नेपाल उद्योग वाणिज्य महासंघ देशभरका उद्योगी व्यवसायीको संस्था हो । त्यसैले हामीले सरकार र सरकारका निकायलाई दिने सुझाव समग्र निजी क्षेत्रको हो, कुनै व्यक्ति, व्यवसायी या संस्था विशेषको होइन । तर पनि कतिपय निर्णय व्यक्ति र संस्था हेरेर गर्ने गरिएको पनि छ, जुन दुर्भाग्यपूर्ण छ ।

    विकास साझेदारहरुसँग पनि समदूरी आवश्यक छ । अर्थतन्त्र सञ्चालनमा विदेशी निकायको सुझाव र सल्लाह सुधारका लागि लिने हो, अप्ठ्यारोका लागि होइन ।

    अहिले विदेशी दातृनिकायको सानो ऋणका कारण अर्थतन्त्र जोखिममा पर्ने अवस्था आएको छ । हाम्रा सबै सूचक ठिकठाक छन् र मिल्छ भने त्यो ऋण तिरिदिए पनि हुन्छ । निजी क्षेत्र चलायमान हुन नसक्दा राजस्व घटिरहेको विदितै छ । सरकारी खर्च चलाउन आर्थिक वर्षको सुरुदेखि नै आन्तरिक ऋण उठाउन थालिएको छ । उच्च मूल्यवृद्धि छ ।

    हामी चाहन्छौं, एउटा पारदर्शी र निजी क्षेत्रमैत्री प्रणालीको विकास होस् । साना उद्यमी, जसको पहुँच छैन, उनीहरुलाई सहयोग बढी चाहिन्छ । उनीहरुले सहज रुपमा व्यवसाय गर्ने वातावरण बनाइदिनुपर्छ । त्यसतर्फ हामी सबैले प्रयास गरौं । किनभने, अर्थतन्त्रमा अब सानोतिनो परिवर्तनले सुधार सम्भव छैन । सेयर बजार लक्षित केन्द्रीय बैंकको नीतिलगत्तै घटेको बजारले पनि यसलाई पुष्टि गरेको छ ।

    हामीले समयमा सही नीति लिन सकेनौ । अब टालटुले नीतिले तत्काल सुधार सम्भव छैन । अहिले नेपालको अर्थतन्त्र संवेदनशील मोडमा छ । बैंक वित्तीय संस्थाहरुसँग करिब ५ खर्ब रुपैयाँ लगानी गर्न सक्ने रकम छ । आपूर्ति अधिक हुँदा ब्याज घट्नुपर्ने हो र उद्यमी व्यवसायीले रकमको माग गर्नुपर्ने हो । त्यसो हुन सकेको छैन ।

    विदेशी विनिमय सञ्चिति सम्भवतस् हालसम्मकै उच्च छ । भारतसँग स्थिर विनिमय दरका कारण कुनै ठूलो विनियम जोखिम पनि छैन ।

    रेमिट्यान्स हालसम्मकै उच्च अर्थात् महिनामै १ खर्ब १६ अर्ब रुपैयाँ भित्रिएको छ । यसले न बजारमा माग बढाएको छ न त औपचारिक रुपमा आयात नै उच्च भएको छ । यी र यस्ता विरोधाभाषपूर्ण तथ्यांक अहिलेको अर्थतन्त्रमा देखिएका छन् ।
    यो मूलतस् सर्वसाधारणले अर्थव्यवस्थाप्रति विश्वास गुमाउँदै गएर एकैपटक लगानी र बजारको माग घटेको छ भने बजार भाउ निरन्तर बढिरहेको छ । यसलाई अहिले पनि हल गरेनौं भने जोखिम गहिरिँदै जानेछ ।

    अब नयाँ पुस्ताको आर्थिक सुधारको तत्काल घोषणा गर्नु आवश्यक छ । अहिलेको अर्थव्यवस्थाको जग २०४८ ताका थालिएको सुधारले अब थेग्न सक्दैन ।

    त्यसैले प्रधानमन्त्रीबाट तत्काल आर्थिक सुधार आयोग वा अन्य कुनै उच्चस्तरीय कानुनी हैसियत भएको संयन्त्र गठन गर्नु जरुरी देखिएको छ । उक्त आयोगको अध्यक्ष प्रधानमन्त्रीज्यू नै रहने र निजी क्षेत्रका छाता संगठनका अध्यक्ष अनिवार्य रुपमा समावेश हुनुपर्नेछ । आयोगमा अर्थ तथा उद्योग मन्त्रालय, योजना आयोग, नेपाल राष्ट्र बैंकलगायत सम्बन्धित निकायका उच्च नेतृत्व रहनु सान्दर्भिक हुनेछ ।

    यस्तो आयोग बनाउँदा खर्च बढ्ने हुँदा आयोगका पदाधिकारी अवैतनिक रुपमा नियुक्त हुनुका साथै मितव्ययी रुपमा काम गर्ने गरी कार्यविधि निर्माण गर्न सकिन्छ । यसको सञ्चालनका लागि आवश्यक मात्रामा निजी क्षेत्रले पनि योगदान दिन सक्नेछ ।

    हामी सबै पक्ष मिलेर काम गर्‍यौं भने सबै समस्याको समाधान सम्भव छ । नेपालको निजी क्षेत्र दरिलो छ । नेपालको निजी क्षेत्र कोभिडलगत्तै झन्डै ६ प्रतिशतको आर्थिक वृद्धि दिनसक्ने क्षमताको हो । त्यसैले निजी क्षेत्रको मनोबल बढाउने विषयमा सरकार सकारात्मक हुनुपर्छ । हामीले निजी क्षेत्रको मर्यादाक्रमको विषय पनि उठाएका छौं । प्रधानमन्त्रीज्यू र मुख्य सचिवज्यूहरु सकारात्मक हुँदाहुँदै पनि काम हुन सकेको छैन ।

    यी र यस्ता कयौं विषयप्रति प्रधानमन्त्रीज्यू, मन्त्रीज्यूहरु, मुख्य सचिवज्यू तथा सचिवज्यूहरुले नै सार्वजनिक रुपमै प्रतिबद्धता जनाउनुभएको भए पनि कार्यान्वयनमा नआउँदा हामीलाई दुस्ख लाग्नु स्वभाविकै हो । यहाँसम्म कि कतिपय अवस्थामा त मन्त्रिपरिषदका निर्णय नै कार्यान्वयन हुन नसकेको अनुभव पनि हामीसँग छ । प्रधानमन्त्रीज्यू ! कार्यान्वयनमा हुने यस्ता ढिलासुस्ती हटाउनुपर्छ भन्ने हाम्रो भनाइ हो ।

    त्यसैले पनि अर्थतन्त्रका सबै सरोकारवाला पक्ष एक ठाउँमा आएर सामूहिक रुपमा अहिलेको अवस्थाबाट बाहिर आउनका लागि पहल गरौँ । निजी क्षेत्रका तर्फबाट महासंघले यसको सुरुवात गरेको छ । सुधारका लागि सबै पक्षको सहकार्य जरुरी हुन्छ।

    (राष्ट्रिय आर्थिक बहस कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यक्त गरेको विचार)

     

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend