कवि डा. सिंजालीलाई केशर साहित्य पुरस्कार


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : बिहिबार, पौस ३ २०८२


  • कवि डा. सिंजालीलाई केशर साहित्य पुरस्कार

    गण्डकी प्रदेशसभाकी उपसभामुख विनाकुमारी थापाले लोपोन्मुख मगर भाषाको संरक्षणका लागि प्रशिक्षण कक्षाहरू सञ्चालन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
    मगर भाषा प्रतिष्ठान, कास्की शाखाले कवि केशरबहादुर नाम्जाली भुरुङ मगरको ५९ औं जन्मजयन्तीका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख थापाले मगर भाषाको संरक्षणका लागि प्रयोगलाई व्यापक बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । गण्डकी प्रदेशसभाले गण्डकी प्रदेशमा मगर भाषा र गुरुङ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न ऐन निर्माण गरिसकेको जनाउँदै उहाँले त्यसको कार्यान्वयनका लागि सबैको साथ, सहयोग जरुरी रहेको उल्लेख गर्नुभयो ।
    मगर भाषामा कलम चलाउने स्रष्टालाई सम्मान गर्नु प्रशंसनीय कार्य रहेको भन्दै उपसभामुख थापाले कवि केशरले आफ्नो जीवनको छोटो समयमा पनि नेपाली समाजका लागि आफ्नो अमूल्य कृति दिएर गएको बताउनुभयो । सो अवसरमा उहाँले कवि केशरबहादुर नाम्जाली भुरुङ मगरको स्मृतिमा स्थापित “केशरबहादुर नाम्जाली भुरुङ मगर साहित्य पुरस्कार–२०८२”बाट स्रष्टा डा. विष्णुकुमार सिंजालीलाई पुरस्कृत गर्नुभएको थियो ।
    मगर भाषा प्रतिष्ठान, कास्की शाखाले सञ्चालन गर्दै आएको सो पुरस्कारबाट ५९ औं केशर जन्मजयन्तीका अवसरमा बुधबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य समेत रहेका प्राज्ञ डा. सिंजाली पुरस्कृत हुनुभएको हो । साहित्य पुरस्कारबाट पुरस्कृत व्यक्तित्व डा. सिंजाली नेपाल मगर लेखक संघका अध्यक्ष समेत हुनुहुन्छ । प्रतिष्ठानले हरेक दुई÷दुई वर्षमा कवि केशरको जन्मजयन्तीका अवसरमा एक जना साहित्यिक प्रतिभालाई सो पुरस्कारबाट पुरस्कृत गर्दै आएको छ ।
    कार्यक्रममा बोल्दै पुरस्कृत व्यक्तित्व डा. सिंजालीले आफूले कुनै सम्मान वा पुरस्कार पाउने आशामा मगर भाषाको लेखनमा नआएको बताउनुभयो । मातृभाषाप्रतिको माया र लगावका कारण मगर भाषामा कृति लेखन सम्भव भएको बताउँदै उहाँले आफूले गरेको योगदानलाई समाजले कदर गरेको र पुरस्कार प्राप्तिले थप जिम्मेवारी दिएको महसुस गरेको उल्लेख गर्नुभयो । मगर भाषा प्रतिष्ठान, केन्द्रीय समितिका सचिव मनबहादुर गाहाले मातृभाषालाई रोजीरोटीसँग जोड्न सके मात्र जोगाउन सकिने धारणा व्यक्त गर्दै राज्यले मगर भाषालगायतका लोपोन्मुख मातृभाषाको संरक्षणका लागि ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
    कार्यक्रममा कवि रूद्र “सन्देश” मगरले कवि केशरबहादुर नाम्जाली भुरुङ मगरको व्यक्तित्व र कृतित्वबारे बोल्नुभएको थियो भने प्रतिभा छनौट समितिका संयोजक एवं मगर भाषा प्रतिष्ठान, कास्की शाखाका संस्थापक अध्यक्ष निर्मल थापाले पुरस्कृत व्यक्तित्वको परिचय प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा कवि केशरबहादुर नाम्जाली भुरुङ मगरकी जीवनसंगिनी एवं अक्षयकोषदाता शशी थापा, नेपाल मगर संघका कोषाध्यक्ष पूर्णबहादुर राना, मगर भाषा प्रतिष्ठानका पूर्व अध्यक्षद्वय फूलकुमारी थापा, रूद्रबहादुर हितान, पोखरा महानगरपालिका वडा नं. २७ की जनप्रतिनिधि बुद्धिमाया थापालगायतको उपस्थिति रहेको थियो ।
    मगर भाषा प्रतिष्ठान, कास्कीका अध्यक्ष यामबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव मीना थापाले सञ्चालन र उपाध्यक्ष रूद्रबहादुर श्रीसले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend