२७ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन आज काठमाडौंमा सुरु हुदै छ । काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन हुँदैछ ।
कांग्रेस काठमाडौँ जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा उद्घाटन कार्यक्रम हुनेछन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा हुन लागेको महाधिवेशनमा पार्टीका नेता शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पनि निमन्त्रणा दिइएको छ ।
प्रमुख अतिथिको निमन्त्रणा पठाइएको भए पनि देउवाले भने अस्वीकार गरेका छन् । संस्थापन पक्षले विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको छ । उनीहरुले आजकै मितिमा जिल्ला सभापति र युवाको भेला बोलाएका छन् ।
आज विशेष महाधिवेशनको उद्घाटनपछि बन्द सत्र सुरु हुनेछ । महाधिवेशन सोमबारसम्म चल्नेछ । महाधिवेशनका लागि बाहिर जिल्लाका प्रतिनिधिहरु शनिबार नै काठमाडौं आइसकेका छन् । उद्घाटनअघि विभिन्न ठाउँबाट जुलुस पनि निकाल्ने सचिवालयले जनाएको छ ।