पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज (मंगलबार) महानायक राजेश हमाल आउने भएका छन् ।
कोटिहोममा साधु सन्त, कथाव्यास तथा चर्चित कलाकार आउने भएकोले महायज्ञ भक्तजनमय भएको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।
कोटिहोममा कथा वाचन गरिहेकी भागवत मञ्जरी राधिका दासी सोमबार गुरुङ समुदायको पोषाकमा कथा वाचन गरिन् । आफु जहाँ गए पनि त्यहाँको संस्कृतिसँग नजिकिने गरेकी राधिका दासीले गुरुङ समुदायको पहिरनमा रहेर कथा वाचन गरेको प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।
कुनै जात विशेष, कुनै धर्म विशेष, कुनै सम्प्रादाय विशेष नभएर नेपाल भित्र रहेका धार्मिक साँस्कृतिक धरोहरलाई विश्वभर चिनाउने उद्देश्य कोटिहोमको रहेको छ । जसको उदाहरण आज कोटिहोममा भागवत मञ्जरी राधिका दासीले प्रस्तुत गरेकी थिइन् । उनी मखमल र भेलभेटको चोलो, घलेक, कटनको लुंगी, कालो मखमलको टिकिस, पटुका र मलिनको पछ्यौरी लागएर पाण्डलमा आएका थिइन् ।
काठमाण्डौ बाट कोटिहोम दर्शन गर्न आएकी प्रतिनिधि सभा सदस्य पूर्व स्वास्थ्य राज्य मन्त्री डा. तोसिमा कार्कीले कोटिहोम र महायज्ञका संकल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजको खुलेरै प्रशंशा गरिन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय नेता समेत रहेकी उनले पोखरा आफैमा पर्यटकीय राजधानी भएकोले यो कोटिहोमले धार्मिक पर्यटन भित्रयाउन ठूलो मद्दत मिल्ने बताईन् । उनीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्र देखि जिल्ला तहका नेताले कोटिहोम दशर्न गरेका थिए ।
महायज्ञका प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुुसार महायज्ञ उत्तरार्ध तर्फ आउँदै गर्दा पनि भक्तजनको उपस्थिति दिनहँु बढ्दो छ । यतिवेला गण्डकी प्रदेशमा सार्वजनिक यातायातका साधान वन्द भएपनि भक्तजनको उपस्थिति भने घटेको छैन ।
शुरुको अवस्थामा केही विरोधका आवज आए पनि कोटिहोममा भक्तजनको उपस्थिति देखेर धेरैले सामाजिक सञ्जालमा कोटिहोमको खुलेरै तारिफ गर्ने गरेको प्रचार प्रसार संयोजक ढकालले जानकारी दिए । कोटिहोममा भागवत मञ्जरी राधिका दासी कथा वाचन गरिरहेकी छन् । उनले जेठ २६ गते सम्म कथा वाचन गर्नेछिन् । देशविदेशबाट आगमन भएका साधु, सन्त, महन्तले निकै रौनकता थपेको छ । अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभा, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं। दिनबन्धु पोखरेललगायत साधु सन्तले महायज्ञमा कथा वाचन गरिसकेका छन्। कोटिहोममा रक्तदान जारी छ ।
पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भइरहेको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।