दुई वर्षमा सक्नुपर्ने बागलुङ नगर अस्पताल भवन, चार वर्षमा आधा काम


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : सोमबार, साउन ५ २०८२


  • दुई वर्षमा सक्नुपर्ने बागलुङ नगर अस्पताल भवन, चार वर्षमा आधा काम

    बागलुङ । निर्माण व्यवसायीले काम जारी नराख्दा १५ शय्याको बागलुङ नगर अस्पताल भवन निर्माण अन्योलमा देखिएको छ । अहिले निर्माणाधीन अस्पताल भवनमा घाँस उम्रिन थालेको छ ।

    अस्पताल भवन निर्माण थालिएको चार वर्ष लाग्दा अस्पतालको जम्मा ५६ प्रतिशत मात्रै भौतिक प्रगति देखिएको छ । निर्माणमा ढिलासुस्ती भएका कारण अस्पतालका रडमा खिया लागेको छ, भने भित्तामा घाँस उम्रेको पाइएको छ । दुई वर्षमा सक्ने भनेको भवनको सम्झौता तीन पटक म्याद थप्दासमेत अझै सम्पन्न नभएको बागलुङ नगरपालिकाले जनाएको छ ।

    भवन निर्माणका लागि तेस्रो पटक २०८३ असार १९ गते सम्म म्याद थपेको बागलुङ नगरपालिकाले जनाएको छ । पटक–पटक ताकेता गर्दासमेत भवन निर्माण सम्पन्न नभएको र सङ्घीय बजेट भएकाले बाध्य भएर म्याद थप गरेको बागलुङ नगरपालिकाका इन्जिनियर सोबिन घर्तीले जानकारी दिए । उनका अनुसार निर्माण व्यवसायीले नगरपालिकाबाट गरेको फोनसमेत नउठाउने गरेको पाइएको बताए । नगरपालिकाले चेतावनी पत्र पठाउने तयारी थालेको उनको भनाइ छ ।

    पटक–पटक म्याद मात्रै थपेर निर्माण व्यवसायी फर्केको जनाउँदै अहिले अस्पताल भवनमा इँटा झारेर काम नगरेको पाइएको हो । अस्पताल भवन निर्माणमा ढलानको काम मात्रै सकेर पर्खालको काम बिचमै निर्माण व्यवसायीले अलपत्र पारेर छोडेको छ । रु १२ करोडको भवनमा फ्याट्टफुट्ट कामदार लिएर काम गर्दा भवनले गति नलिएको हो । भवनको ५६ प्रतिशत भौतिक र ५२ प्रतिशत वित्तीय प्रगति भएको इन्जिनियर घर्तीको भनाइ छ ।

    बागलुङ–१३ पैँयूपाटामा निर्माणाधीन १५ शय्याको बागलुङ नगर अस्पताल दुई वर्षभित्र निर्माण सक्ने गरी २०७८ मा सम्झौता भएको थियो ।

    इन्जिनियर घर्तीका अनुसार २०८० असार २० गते निर्माण सकेर हस्तान्तरण गर्ने गरी सम्झौता भए पनि तीन पटक म्याद थप हुँदासमेत ५६ प्रतिशत प्रगति भएको छ । बागलुङ नगरपालिकाले अस्पताल भवन निर्माणका लागि रु १२ करोड ८७ लाखमा श्री महालक्ष्मीरजुगल जेभीसँग २०७८ असार २३ गते सम्झौता गरेको थियो ।

    काम गरेको भुक्तानी समयमै नपाएको, कच्चा सामग्री आयातमा सडकको अवरोध रहेका कारण निर्माणमा ढिलाइ भएको निर्माण व्यवसायी नरेश ओझाले जानकारी दिए । “काम गर्दा समयमै भुक्तानी पाइँदैन बर्खामा सामग्री ढुवानीमा समस्या हुन्छ, गलुवाको पहिरोका कारण अहिले इँटा ढुवानीमा समस्या भएको छ,” उनले भने ।

    छ महिनाभित्र काम सक्नेगरी निर्माणलाई तीव्रता दिने निर्माण व्यवसायीको भनाइ छ । स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी नगर अस्पताल बनाएर सेवा दिए पनि भवन अभावले समस्यामा परेको छ । निर्माण व्यवसायीलाई ताकेता गरिरहेको भए पनि काममा आउने फर्कने र पाँचरछजना कामदार मात्रै खटाउने गरेको बागलुङ नगरपालिका–१३ का वडाध्यक्ष नारायण पौडेलले बताए ।

    निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अस्पताल भवन निर्माण कहिले सकिने टुङ्गो लाग्न नसकेको हो । सरकारले प्रत्येक पालिकामा १५, १० र ५ शय्याको आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्यअनुसार नगर अस्पताल निर्माण थालिएको थियो । अस्पतालको प्रवेशद्वार, पार्किङलगायत संरचनासहित तीन तलाको विद्युतीय भ¥याङसहितको अस्पताल निर्माण गर्ने सम्झौतामा उल्लेख छ । बागलुङ नगरपालिकाको रायडाँडा, पैँयूपाटा, अमलाचौर र नारायणस्थनका बासिन्दालाई अस्पताल निर्माणसँगै स्वास्थ्य सेवा लिन सहज हुनेगरी नगर अस्पताल घोषणा गरेर सेवा दिन थाले पनि भवन निर्माणमा ढिलाइ हुँदा पूर्ण सेवा दिन नसकिएको हो ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend