पोखरा । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर्न माग गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी र कास्कीले कालो व्यानर प्रदर्शन गरेको छ ।
फोनिज गण्डकी र कास्कीले संयुक्त कार्यक्रम गरी स्वर्गीय सत्यनारायणबहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक घोषणा गर्नका लागि दबाबस्वरुप केन्द्रीय कार्यक्रमअनुसार नेपाल पत्रकार महासंघ गण्डकी र कास्कीको कार्यालय अगाडि कालो ब्यानर टाँगेको हो ।
स्व. सत्यनारायणबहादुर श्रेष्ठले तत्कालीन नेपाल पत्रकार संघ वि.सं २००८ साल वैशाख ९ गते स्थापना गरी नेपाली पत्रकारलाई एकताबद्ध गर्ने अतुलनीय योगदान गरेका थिए ।
कार्यक्रममा फोनिजका संघीय सचिव एमबी आस्थामगर, फोनिज गण्डकी इन्चार्ज रुद्र श्रीसमगर, सल्लाहकार हुमबहादुर गुरुङ, फोनिज गण्डकीका अनुशासन समिति संयोजक मिना थापामगर, फोनिज गण्डकी र कास्की कार्यसमितिलगायत फोनिजका सदस्यहरुको उपस्थिती रहेको थियो ।
फोनिजले विगत लामो समयदेखि यस अभियानमा निरन्तर लागेको उल्लेख गर्दै पत्रकारहरुले आफ्नो छाता संगठनको इतिहास कायम गर्न जिम्मेवार भएर लाग्नुपर्नेमा उपस्थित फोनिजकर्मीहरुले जोड दिएका थिए ।