फोनिज गण्डकीको आयोजनामा समावेशी पत्रकारिता तथा क्षमता अभिवृद्धि तालिम


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : मंगलबार, जेष्ठ १२ २०८३


  • फोनिज गण्डकीको आयोजनामा समावेशी पत्रकारिता तथा क्षमता अभिवृद्धि तालिम

    पोखरा, १२ जेठ ।
    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको आयोजनामा पोखरामा समावेशी पत्रकारिता तथा क्षमता अभिवृद्धि सम्बन्धी तालिम भएको छ ।

    प्रेस रेजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा भएको तालिम मंगलबार र बुधबार हुनेछ । तालिमको गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारीले उद्घाटन गरिन् । उक्त कार्यक्रममा प्रेस रजिष्ट्रार भण्डारीले पत्रकारितामा निरन्तरको तालिम र क्षमता अभिवृद्धि अपरिहार्य रहेको बताइन् । भण्डारीले समाजको पिँधमा रहेका आवाजहरूलाई मूलधारमा ल्याउनुपर्ने धारणा राखिन् । गुरुङ, मगर, थकाली, तामाङ र दलित लगायतका विभिन्न जातजाति र भाषाभाषीको विविधताले सजिएको गण्डकी प्रदेशमा सबैका कथा र व्यथाहरुलाई सञ्चार माध्यमले स्थान दिनुपर्ने उनको भनाइ थियो ।
    रजिष्ट्रार भण्डारीले भनीन्, ‘समावेशी पत्रकारिता भनेको एउटा कोटा प्रणाली जस्तो मात्र होइन, बरु जसले समाजको पिँधमा रहेका मानिसहरूको आवाजलाई केन्द्रसम्म ल्याउँछ, त्यो नै समावेशिताको वास्तविक नमुना हो ।’ उनले पत्रकारितालाई केवल सूचना प्रवाह गर्ने माध्यम मात्र नभई समाजको न्यायको कडीका रुपमा समेत व्याख्या गरिन् ।

    भण्डारीले पत्रकारहरु आफ्नो पहिचान र संस्कृतिको ‘ब्रान्ड एम्बेसडर’ समेत भएको उल्लेख गर्दै उनीहरुको व्यावसायिक सुरक्षा र क्षमता विकासका लागि सरकार सदैव प्रतिबद्ध रहेको बताइन् । आगामी वर्षको बजेट र योजनाहरूमा पत्रकारहरुको आवश्यकतालाई सम्बोधन गर्ने गरी प्रस्तावहरु ल्याउन समेत उनले सम्बन्धित पक्षलाई आग्रह गरिन् । उनले तालिममा सिकेका कुराहरूलाई केवल प्रमाणपत्रमा मात्र सीमित नराखी व्यवहारमा उतार्न सहभागीहरूलाई सुझाव दिइन् ।

    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का संघीय महासचिव समिर बलामीले पत्रकारितामा समावेशिताको मुद्दालाई केवल नारामा मात्र सीमित नगरी व्यवहारमा उतार्न आवश्यक रहेकोमा जोड दिए । उनका अनुसार फोनिजको स्थापना केवल छुट्टै संगठन बनाउनका लागि मात्र नभई राज्यको पहुँचबाट टाढा रहेका, सीमान्तकृत र अल्पसंख्यक समुदायका आवाजलाई मूलधारको सञ्चार माध्यममा ल्याउनका लागि भएको हो । उनले भने, ‘हामीले गर्ने दैनिक पत्रकारितामा कम्तीमा २० देखि २५ प्रतिशत समाचारहरू समावेशिता, आदिवासी जनजातिका मूल मुद्दा र ओझेलमा परेका समुदायका विषयमा केन्द्रित हुनुपर्दछ, तब मात्र हाम्रो व्यावसायिक पहिचानको औचित्य पुष्टि हुन्छ ।’

    कार्यक्रममा उनले अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि (आईएलओ १६९) र नेपालको संविधानले प्रत्याभूत गरेका आदिवासी जनजातिका अधिकारका बारेमा पत्रकारहरु जानकार हुनुपर्नेमा बताए । कानुन र अधिकारका बारेमा स्पष्ट भएपछि मात्र पत्रकारले सशक्त रूपमा समाचार पैरवी गर्न सक्ने उनको तर्क थियो । उनले भने, ‘राज्यका विभिन्न निकायमा समावेशिताको कार्यान्वयन भए÷नभएको बारे सञ्चार माध्यमबाट खबरदारी गर्नु हाम्रो मुख्य दायित्व हो ।’ समावेशी सिद्धान्त र सीमान्तकृत वर्गको हकहितका लागि पत्रकारितामार्फत निरन्तर लडिरहनुपर्ने उनले बताए ।
    नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशकी महासचिव जमुना वर्षा शर्माले आदिवासी जनजाति समुदायमा रहेका प्रतिभा र उनीहरूका मुद्दालाई सञ्चार माध्यमको मूलधारमा ल्याउन विशेष पहल आवश्यक रहेको बताइन् । यो किसिमको तालिमले ओझेलमा परेका आवाजलाई स्थापित गर्न र पत्रकारहरूको क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।

    महासचिव शर्माले मिडियाको निष्पक्षता र स्वतन्त्रताले नै लोकतन्त्रलाई बलियो बनाउने धारणा राखिन् । उनले भनिन्, ‘मिडिया निष्पक्ष भए मात्र लोकतन्त्र संस्थागत र बलियो हुन्छ, यसका लागि सबै क्षेत्रबाट दबाब र आवाज उठाउन जरुरी छ ।’
    तालिममा कास्की, स्याङ्जा, बागलुङ, म्याग्दीलगायत जिल्लाका ५० जना पत्रकार सहभागी छन् । तालिमको प्रशिक्षकमा फोनिजका संघीय सल्लाहकार शान्ति गुरुङ, संघीय सचिव एमबी आस्थामगर, फोनिज गण्डकीका सल्लाहकाहरु हुमबहादुर गुरुङ, दीपेन्द्र श्रेष्ठ र मनोज घर्ती मगर रहेका छन् ।

    फोनिज गण्डकीकी अध्यक्ष खिमा गुरुङको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रमको सञ्चालन महासचिव सुरज थापाले गरेका थिए ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend