म्याग्दीमा उद्योग व्यवसाय बन्द हुने दर बढ्यो


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : शुक्रबार, साउन ३० २०८२


  • म्याग्दीमा उद्योग व्यवसाय बन्द हुने दर बढ्यो

    म्याग्दी । पछिल्लो तीन वर्षयता म्याग्दीमा उद्योग व्यवसाय दर्ताको तुलनामा बन्द हुने दर बढेको छ । आर्थिक मन्दीका कारण उद्यमी, व्यवसायीहरू वैकल्पिक पेसा रोज्ने र पलायन हुँदा व्यवसाय दर्ता घटेको र बन्द हुने दर बढेको हो ।

    पर्यटन तथा उद्योग कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०र८१ को तुलनामा २०८१र८२ मा उद्योग व्यवसाय दर्ता २६ दशमलव ५४ प्रतिशतले घटेको र खारेज हुने दर एक सय सात प्रतिशतले बढेको छ ।

    आव २०८१र८२ मा म्याग्दीमा ७० उद्योग र ८५ व्यवसाय दर्ता हुँदा ४२ उद्योग र ४८ वटा व्यावसायिक फर्म बन्द भएका कार्यालय प्रमुख अमृत कँडेलले बताए । आव २०८०र८१ मा दुई सय ११ उद्योग, व्यवसाय दर्ता भएको कार्यालयमा ८४ खारेज भएका थिए ।

    १४ उद्योग र २९ व्यावसायिक फर्म खारेज भएको आव २०७९र८० मा एक सय एक वटा उद्योग र एक सय १० वटा व्यावसायिक फर्म दर्ता भएका थिए । आव २०७७र७८ मा सात सय ६२, आव २०७८र७९ मा पाँच सय ७० र २०७९र८० मा तीन सय १७ वटा उद्योग र व्यावसायिक फर्म दर्ता भएका थिए ।

    आव २०८१र८२ मा दर्ता र खारेज भएका उद्योगको सङ्ख्या थपघट गर्दा उद्योगतर्फ दुई हजार ९१७ र व्यवसायतर्फ दुई हजार ६९० वटा कायम भएको छ । गत वर्ष दर्ता भएका उद्योगमा दुई सय १७ जनालाई रोजगारी सृजना भएको छ । गत वर्ष पाँच सय ३२ उद्योग र छ सय तीन व्यावसायिक फर्मको नवीकरण भएको छ ।

    उद्योग व्यवसाय दर्ता नवीकरणबापत गत आवमा पर्यटन तथा उद्योग कार्यालयले रु ३० लाख २५ हजार ७७४ राजस्व सङ्कलन गरेको छ । आव २०८०र८१ मा रु १७ लाख ३८ हजार ५०० राजस्व सङ्कलन गरेको कार्यालयले प्रदेश सरकारले नीतिमा परिवर्तन गरेका कारण राजस्व बढेको जनाएको छ ।

    म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले घट्दो जनसङ्ख्या, बसाइँसराइ, वैदेशिक रोजगारी, स्थानीय तहमा मात्र दर्ता गरेर आन्तरिक राजस्व कार्यालयबाट पान नम्बर पाइने र कोरोना महामारीपछि आर्थिक मन्दीको असर उद्योग व्यवसाय दर्ता तथा खारेजीमा परेको बताए।

    “व्यवसाय र उद्योग खारेजी बढ्नु र दर्ता घट्नुलाई कोभिडपछिको आर्थिक मन्दी र वैदेशिक रोजगार मुख्य कारण हुन्”, उनले भने, “वैदेशिक रोजगारका लागि कारोबार देखाउन, बैङ्कबाट ऋण र राज्यबाट अनुदान लिन कागजी प्रक्रिया पूरा गर्न दर्ता भएका उद्योग र व्यवसाय उद्देश्य पूरा भएपछि कर तिरिरहनु भन्दा खारेज गर्नेहरू पनि छन् ।”

    फेन्सी, हार्डवयर्स र होटल तथा रेष्टुरेष्टको व्यापार घटे पनि सटर नै बन्द नभएका तथा पर्यटनमूलक होटल व्यवसाय बढेका अध्यक्ष श्रेष्ठको दाबी छ । ग्रामीण क्षेत्रका उद्यमी र व्यवसायीहरूले स्थानीय तहमै दर्ता गरेर पान नम्बर लिन पाउने व्यवस्था भएपछि प्रदेश सरकारअन्तर्गतको पर्यटन तथा उद्योग कार्यालयमा दर्ता नगर्ने र खारेज गर्न थालेका अध्यक्ष श्रेष्ठले बताए ।

     

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend