पोखरा ।
नवआदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा ‘लामाचौर तीज महोत्सव–२०८२’ हुदै छ । २७ औं संस्करणको तिज महोत्सव यही भदौ ८ देखि १० गतेसम्म हुने भएको हो । तीजको अवसरमा लामाचौरको इन्द्रराज्यलक्ष्मी मावि प्रांगणमा महोत्सव हुन लागेको संस्थाका अध्यक्ष दिनेश भण्डारीले बताएका छन् ।
महोत्सवको मुख्य आकर्षण लामाचौर कप भलिबल प्रतियोगिता हो । खुल्ला पुरुष भलिबल र विद्यालयस्तरीय छात्रा भलिबल र तीज गीत प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता हुनेछ ।
खुल्ला पुरुष भलिबल विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीलाई १० हजार दिइनेछ । अन्तर मावि छात्रा भलिबल विजेताले १ लाख र उपविजेताले ५० हजार तथा सर्वोत्कृष्ट खेलाडीले ५ हजार प्राप्त गर्नेछ । साथै, दुवै इभेन्टमा उत्कृष्ट विधामा आकर्षण पुरस्कार रहेको छ ।
महोत्सव भदौं ८ देखि सुरु हुनेभएपनि खुल्ला पुरुष भलिबल र विद्यालयस्तरीय छात्रा भलिबल भदौं ७ गतेदेखि नै सञ्चालन हुने आयोजकले जनाएको छ । खुल्ला पुरुष भलिबल प्रतियोगितामा पोखरामा सम्पन्न भएको नवौें प्रधानमन्त्री कप– एनभिए खेलेका तीन जना खेलाडीहरु मात्र समावेश गर्न पाउने आयोजकले जनाएको छ ।
विद्यालयस्तरीय छात्रा भलिबल तर्फ कक्षा १२ मा अध्ययनरत विद्याथीहरुले मात्र प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।
तीज गीतमा प्रथमलाई ५० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई २० हजार र सान्त्वनालाई १० हजार साथै सहभागी टिमलाई प्रोत्साहन स्वरुप २ हजार दिइनेछ । लोकनृत्यमा प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः ४०, २५ र १५ तथा सान्त्वना ३ टिम तथा उत्कृष्ट भेषभूषालाई ५ हजार दिइनेछ ।
महोत्सव आयोजना गर्न करिब ४५ लाख खर्च हुने आयोजकको अनुमान छ । महोत्सवबाट बचत रकम आकस्मिक सेवा तथा तीज महोत्सव संचालन कोष बृद्धिमा थप गरिने अर्थ संकलन उपसमिति संयोजक कमल थापाले बताए ।