पोखरा: हेभेनली इभेन्ट म्यानेजमेन्टको आयोजनामा विवाहित महिलाहरुको प्रतिभा र क्षमतालाई राष्ट्रिय मञ्चमा पुर्याउने उद्देश्यसहित ‘मिसेस कास्की नेपाल’ प्रतियोगिताको आवेदन फारम खुलेको छ। यस प्रतियोगिताले विवाहित महिलाहरुको आत्मविश्वास अभिवृद्धि गर्दै उनीहरुलाई समाजमा अझ सशक्त बनाउन प्रोत्साहन गर्ने लक्ष्य लिएको छ।
हेभेनली इभेन्ट म्यानेजमेन्टका निर्देशक सफल सुवेदीले ‘मिसेस कास्की नेपाल’ ले विवाहित महिलाहरुको लुकेको प्रतिभा बाहिर ल्याउन मद्दत गर्ने बताएका छन्। सुवेदीको नेतृत्वमा यस संस्थाले यसअघि नै विभिन्न सफल प्रतियोगिताहरु सम्पन्न गरिसकेको छ, जसमा ‘लिटिल मिस मोन्टेसरी’, ‘लिटिल मिस्टर एण्ड मिस पोखरा’ र ‘मिस कास्की नेपाल’ जस्ता लोकप्रिय कार्यक्रमहरु समावेश छन्। यी सफल आयोजनाहरुको अनुभव र दक्षतालाई ‘मिसेस कास्की नेपाल’ मा प्रयोग गरी प्रतियोगितालाई भव्य र अन्तर्राष्ट्रिय स्तरको बनाउने तयारी भइरहेको आयोजकले जनाएको छ।
इच्छुक विवाहित महिलाहरुले हेभेनली इभेन्ट म्यानेजमेन्टको कार्यालयमा वा तोकिएको अनलाइन प्लेटफर्म मार्फत आवेदन फारम भर्न सक्नेछन्। प्रतियोगिताका बारेमा थप जानकारी, जस्तै छनौट प्रक्रिया, प्रशिक्षण तालिका र फाइनल प्रतिस्पर्धाको मिति लगायतका विवरणहरु आयोजकले छिट्टै सार्वजनिक गर्ने बताएको छ। यस प्रतियोगिताले विवाहित महिलाहरुलाई आफ्नो परिचय र क्षमतालाई थप फराकिलो बनाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।