संसारकोट दरबारको पुनःनिर्माण गरिँदै


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : मंगलबार, जेष्ठ २० २०८२


  • संसारकोट दरबारको पुनःनिर्माण गरिँदै

     

    बागलुङको संसारकोटमा पूर्वाधार निर्माणले गति लिएको छ, जसमा पर्खाल, भगवती मन्दिर, सत्तल र पदमार्ग निर्माण भइरहेका छन्।
    संसारकोटमा दुई महिनादेखि मन्दिरसहितका पूर्वाधार निर्माण भइरहेको छ, धार्मिक पर्यटकलाई आकर्षित गर्न पदमार्ग निर्माण गरिएको छ।
    संसारकोटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बजेटबाट पुनर्निर्माण भइरहेको छ, जसले ऐतिहासिक पर्यटकीय स्थलको रूपमा विकास गर्दैछ।
    बागलुङ । बागलुङ स्थित संसारकोटमा पूर्वाधार निर्माणले गति लिएको छ । भग्नावशेष अवस्थामा रहेका संसारकोट दरबार क्षेत्रमा पर्खाल र भगवती मन्दिर पुनर्निर्माण सुरु गरिएको छभने सत्तल र पदमार्गलगायत पूर्वाधार निर्माण जारी छन् ।

    संसारकोटमा दुई महिनायता मन्दिरसहितका पूर्वाधार निर्माण भइरहेको छ । बागलुङ नगरपालिका–७ मा पर्ने संसारकोट पछिल्लो समय धार्मिक पर्यटकलाई पदमार्गमार्फत त्यहाँ पुर्याउन थालिएको छ । संसारकोट दरबारको पर्खाल पुनर्निर्माण तथा भगवती मन्दिर निर्माणमा खटिएका कामदार दुई महिनायता जङ्गलमै बास बसेर पूर्वाधार निर्माणमा खटिएका छन् ।
    नगरपालिकाले संसारकोटलाई महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा चिनाउन २०७७ सालबाट विभिन्न काम सुरु गरेको थियो । समुद्री सतहबाट दुई हजार ४९० मिटरको उचाइमा रहेको संसारकोटमा अहिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विनियोजन गरेको रु ३६ लाख बजेटबाट पुनर्निर्माण भइरहेको छ ।

    निर्माण आयोजना उपभोक्ता समितिका अध्यक्ष केशवबहादुर कार्कीका अनुसार अहिलेसम्म भग्नावशेष दरबारको पर्खाल पुनःनिर्माण, संसारकोट पुग्ने पदमार्ग, सत्तललगायत संरचनामा रु एक करोड बराबरको पूर्वाधार निर्माण भइसकेको छ । विसं २०७७ सालमा पुरातात्व विभागले रु ३० लाख बजेटमा दरबारको पर्खाललाई पुनःनिर्माण थालिएकामा २०७९ सालमा रु २० लाख बजेट थप विनियोजन गरिएको थियो । विभागले ढुङ्गा कुँदेर कलात्मक ढङ्गले रु ५० लाख बजेटबाट ५० मिटर ढुङ्गाको मात्र पर्खाल लगाइएको थियो । अहिले पर्यटन मन्त्रालयको रकमबाट २० मिटर पर्खाल थप निर्माण र भगवतीको मन्दिर बनिरहेको छ, मन्दिर ढुङ्गा र काठको मात्र प्रयोग गरी निर्माण गरिएको छ ।

    संसारकोटमा प्यागोडा शैलीको मोक्षदेवी भगवती मन्दिर, कलात्मक पर्खालको पुनःनिर्माण, सत्तल, खानेपानीका लागि आवश्यक पूर्वाधार तथा त्यहाँ पुग्ने पदमार्ग निर्माणले पछिल्लो समय धार्मिक पर्यटक आकर्षित गरेको छ । संसारकोटमा अहिले विद्युत्समेत पुर्याइएको छ ।

    तीन वर्षअघि खसगाउँबाट थाप्लोसम्म चार सय मिटर पदमार्ग, अर्को वर्ष संसारकोटबाट सम्मेनीसम्मको पदमार्ग, खसगाउँ चौपारीबाट सम्मेनी सम्म र रामाइलो डाँडा गरी झण्डै चार किलोमिटर पदमार्ग निर्माण सम्पन्न गरिएको छ । अहिले खसगाउँबाट र संसारकोटको बीच भागमा पदमार्ग बनाउन बाँकी रहेको कार्कीले बताए ।

    पदमार्गको बीच–बीचमा चारवटा चौतारीसमेत निर्माण भइसकेका छन् । पर्यटन प्रवर्द्धन कार्यक्रम तथा पुरातात्विक स्थलको संरक्षण, मर्मत र जीर्णोद्वार कार्यक्रमले संसरकारकोटको मुहार फेरिँदै गएको छ । जिल्लाको ऐतिहासिक पर्यटकीयस्थलका रूपमा परिचित संसारकोट बागलुङको पाला, मूलपानी, मालिका, भीमपोखरा, धम्जा र म्याग्दीको ज्यामरुककोट, गौश्वरा तथा अर्कोतर्फ भकिम्ली समेतको जङ्गलको धुरीमा पर्छ ।

    संसारकोट, ऐतिहासिक पर्यटकीय र सांस्कृतिक महत्व बोकेको क्षेत्रमा तत्कालीन बाइसेरचौबिसे राज्यअन्तर्गत पर्वते राजाले शासन गर्ने गरेको बुढापाकाले बताउने गरेको स्थानीय तेजप्रसाद न्यूरेले जानकारी दिए। उनले बागलुङ ६ र ७ नम्बर वडामा तारजालकोट, कारिकोट, माझकोट, राँयकोट र शिरमा संसराकोट रहेकाले अहिले सबैको सङ्गमस्थलका रुपमा पञ्चकोटको नामकरण गरेर धार्मिक पर्यटकसमेत भित्र्याइरहेको छ । संसारकोटबाट अन्नपूर्ण, माछापुच्छ्रे र धवलागिरिलगायत हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।

     

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend