ढोरपाटनका विद्यार्थीको पीडाः कठ्याङ्ग्रिँदै पढ्नुपर्ने बाध्यता


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : आइतबार, पौस २७ २०८२


  • ढोरपाटनका विद्यार्थीको पीडाः कठ्याङ्ग्रिँदै पढ्नुपर्ने बाध्यता

    बागलुङ । अत्यधिक चिसो बढेपछि ढोरपाटनमा खोला र धारमा पानी जम्न थालेका छन् । बिहानपख तुसारोले बाटो छेक्दा हिँडडुलमा पनि समस्या हुन्छ । बिहानमा तुसारो पर्ने र दिउँसमा सिरसिर चलिराख्ने सेरेटोले स्थानीयको दैनिकी नै प्रभावित हुने गर्छ । यस्तो चिसोमा यहाँका विद्यालय सञ्चालनमा छन् । केही विद्यालयले घुम्ती पढाइका लागि बेँसी झरे पनि ज्योति विकास माध्यमिक विद्यालयका र सिद्ध प्राथमिक विद्यालय अहिले पनि यहीँबाट सञ्चालित छन् ।

    चिसोमा विद्यालय चल्दा विद्यार्थीले सास्ती खेप्नुपरेको छ । चिसोले विद्यार्थी र शिक्षक बिरामी पर्दा पठनपाठनसमेत प्रभावित हुने गरेको छ । ढोरपाटन नगरपालिका–९ चिसापानीमा रहेको ज्योति विकास मावि र छेन्तुङस्थित सिद्धबराह प्राविका विद्यार्थी र शिक्षक बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित बनेको छ ।

    ढोरपाटनमा बिहानमा बाक्लो तुसारो पर्ने र दिउँसोमा चिसो सिरेटोले विद्यार्थीलाई ज्वरो, रुघाखोकीसहित निमोनिया हुने समस्या देखिँदा पढाइ प्रभावित बनेको ज्योति विकास माविा प्रधानाध्यापक चकबहादुर अदैले जानकारी दिए । चिसोका कारण धारो र खोलामा पानीसमेत जमेको भन्दै पठनपाठनमा निकै समस्या भएको उनको भनाइ छ ।

    अघिल्लो वर्ष पुस पहिलो सातादेखि माघ अन्तिम सातासम्म बिदा हुने गरे पनि यस नगरपालिकाको वार्षिक क्यालेण्डरअनुसार चल्दा समस्या भएको अदैले बताए । ढोरपाटनमा सञ्चालित जनवादी आधारभूत विद्यालय र सहलथान प्राथमिक विद्यालयले घुम्ती पठनपाठन सुरु गरेका छन् । जनवादीले ढोरपाटन नगरपालिका–९ बिजौले र सहलथानले वडा नं ८ को नौघर टोलाबाट पढाइ सञ्चालन गरेका छन् ।

    अघिल्ला वर्षहरूमा बर्खे बिदाको समयमा पठनपाठन गर्ने र हिउँदमा विद्यालय बन्द गर्ने गरेको भए पनि यस चिसो कठ्याङ्ग्रिँदै कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको प्रअ अदैले सुनाए । अघिल्लो वर्षदेखि कक्षा १० सञ्चालन गरेको भन्दै यो याममा पोखरामा लगेर ट्युसन पढाएको उनको भनाइ छ । गत वर्षदेखि कक्षा १० सञ्चालन भएको यस विद्यालयमा अहिले कुल १६८ विद्यार्थी रहेको अदैले जानकारी दिए ।

    “चिसोले पानी जमेको छ, बाटोभरि तुसारो जम्दा यात्रा गर्न पनि कठिन छ, यस्तो अवस्थामा पठनपाठन गर्दा बालबालिका बिरामी पर्छन्, एकैदिन १५–२० जना बिरामी हुँदा पठनपाठनमा समस्या हुने गरेको छ, पोहोरपरार त यो बेलामा बिदा हुन्थ्यो”, उनले भने, “पहिले बर्खामा पढाउने र यो बेला बन्द गर्ने गथ्र्यौैँ, हिउँदमा पठनपाठन गर्न थालेको यसपालि पहिलोपटक हो, तर निकै गाह्रो भइरहेको छ ।”

    चिसोका कारण हातखुट्टा कठ्याङ्गिँदा पढाइप्रति ध्यानै नजाने कक्षा १० मा अध्ययनरत छात्रा ओममाया विकले बताइन् । एसइई पनि नजिकिँदै गरेको भन्दै जाडोले गर्दा विद्यालय जावतजावतसमेत गाह्रो हुने गरेको उनको भनाइ छ । जाडोका कारण पुस लागेपछि दुईतीनपटक बिरामी परेको विकले सुनाइन् ।

    ढोरपाटनमा अधिकांश न्यून वर्गका बालबालिकाले मात्रै पढ्ने गर्छन् । हुनेखानेले आफ्ना छोराछोरी पोखरा, काठमाडौँलगायत ठाउँमा पढाउने गरेका छन् । ढोरपाटन नगरपालिकाका सहायक शिक्षा अधिकृत ज्ञानेन्द्रप्रकाश सापकोटले विद्यालयसँग सहकार्य गरेर वैकल्पिक उपाय खोज्ने बताए । शिक्षकहरूकै राय लिएर वार्षिक क्यालेण्ड बनाएको उनको भनाइ छ ।

     

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend