शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकको आकर्षण


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : शनिबार, बैशाख ६ २०८२


  • शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकको आकर्षण

    पोखरा। शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकको आकर्षण बढ्दै गएको छ । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकको आकर्षण बढेको हो । एकै ठाउँमा सङ्ग्रहित गरेर राखेको सवा लाख शालिग्राम अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।

    विश्वमै दुर्लभ मानिने शालिग्राम शिलालाई १०० मिटर सुरुङभित्र संरक्षण गरेर राखिएको छ ।पछिल्लो समय तीव्ररुपमा प्रचारप्रसार हुँदा पर्यटक बढेका हुन् । नेपालको विभिन्न स्थानसँगै दक्षिण भारतबाट बढी पर्यटक शालिग्राम सङ्ग्रहालयमा आउने गरेको सङ्ग्रहालयका संरक्षक ऋषि प्रपन्नचार्यले जानकारी दिए ।उनका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालु वर्ष झण्डै ५० हजार बढी धार्मिक पर्यटक सङ्ग्रहालयमा आएका छन् ।

    गत वर्ष एक लाख पर्यटक यहाँ आएकोमा चालु आवको १० महिनामा एक लाख ५० हजार पर्यटक सङ्ग्रहालयमा आएको ऋषि प्रपन्नचार्य बताउँछन् ।शालिग्राम सङ्ग्रहालय चार वर्षदेखि सर्वसाधारणलाई खुला गरिएको थियो । पछिल्लो समय मुस्ताङको मुक्तिनाथ पुग्ने धार्मिक पर्यटक सङ्ग्रहालयमा आउने गरेको उनको भनाइ छ ।ऋषि प्रपन्नचार्यले भने, ‘सङ्ग्रहालयको विस्तारै प्रचार हुँदैछ, विगतको तुलनामा अहिले यहाँ पर्यटकको आगमन ठूलो सङ्ख्यामा बढेको छ, अझै बढ्दै जाने हामीहरुले आकलन गरेका छौँ, अहिले दक्षिण भारतबाट आउनेको सङ्ख्या अझ बढी छ, प्रचारप्रसार पनि हुँदै गएको छ, यहाँ घुम्न आएका सबै सङ्ग्रहालयमा पस्दैनन्, मन्दिर अवलोकन गरेर जाने गरेका छन् ।’

    त्रिशूल आकारमा सुरुङभित्र शालिग्राम सङ्ग्रहालयसहित त्रिवेणीधामदेखि दामोदरकुण्डसम्मको नक्सा, विभिन्न मठमन्दिरका आकृति बनाइएको छ । सङ्ग्रहालयमा ससाना शालिग्रामदेखि ३०० किलोसम्मको शालिग्राम छन् । सङ्ग्रहालयको प्रवेशद्वार बाघको मुखको आकृतिबाट बनाएपछि सङ्ग्रहालय अहिले बाघको मुखभित्र रहेको छ ।

    गैँडाकोटबाट घुम्न आएका तुल्सीराम सापकोटाले यसरी एकै ठाउँमा सवा लाख शालिग्राम अन्य कुनै ठाउँमा अवलोकन गर्न नपाइने बताए । पारिवारिक भ्रमणका क्रममा बागलुङ आएको सुनाउँदै सङ्ग्रहालय निकै आकर्षक रहेको उनको भनाइ छ । सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा शालिग्राम सङ्ग्रहालयको बारेमा धेरै फोटो भिडियो देखेको हुँदा घुम्न आएको सुनाए ।नवलपरासीबाट घुम्न आएकी मेनुका पौडेलले शालिग्रामको दर्शन गर्दा मनोकांक्षा पूरा हुने विश्वासले परिवारसहित दर्शन गर्न आएको सुनाइन् । ढोरपाटन, बागलुङ कालिका घुम्दै शालिग्रामको दर्शन गर्न पाएको उनको भनाइ छ । पौडेलले धेरै पहिला सामान्य खालको शालिग्राम दर्शन गरे पनि एकै ठाउँमा यति धेरै नदेखेको सुनाइन् ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend