पोखरा, बैशाख १०
पोखरा महानगरपालिका वडा नं। १७, बिरौटामा सञ्चालित श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञ को प्रचार–प्रसार र धार्मिक तथा सामाजिक सद्भावको सन्देश फैलाउन मानवसेवा फाउण्डेशनले बैशाख ११ गते बिहान ७ बजे साइकल र्याली आयोजना गर्ने भएको छ।
बिरौटास्थित कोटिहोम स्थलबाट सुरु हुने यो र्याली ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, बाग्लुङ बसपार्क, बिन्ध्यवासिनी मन्दिर, भैरवटोल, नालामुख, तेश्रोपट्टी, महेन्द्रपुल, चिप्लेढुङ्गा, न्यूरोड, सभागृहचोक, पृथ्वीचोक, नागढुङ्गा, पुरानो एयरपोर्ट र पार्दी हुँदै पुनः बिरौटा कोटिहोम स्थलमा पुगेर समापन हुनेछ।

महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजका अनुसार यो साइकल र्यालीले स्वास्थ्य, वातावरण, र पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण सन्देश दिनेछ। साइक्लिङमार्फत इन्धनको बचत, मानव स्वास्थ्यलाई चुस्त राख्ने, र पोखरा भ्रमण वर्ष २०२५ को विकासमा योगदान पुर्याउने लक्ष्य राखिएको छ। उहाँले सम्पूर्ण पोखरेलीहरूलाई र्यालीमा सहभागी भई यो अभियानलाई सफल बनाउन हार्दिक अनुरोध गर्नुभएको छ।
मानवसेवा फाउण्डेशनले कोटिहोम महायज्ञको प्रचारका लागि थप कार्यक्रमहरू पनि आयोजना गर्दैछ। बैशाख १२ गते ट्याक्सी र्याली, बैशाख १३ गते मोटरसाईकल र्याली, बैशाख १४ गते फेवातालमा डुङ्गा र्याली, र बैशाख १६ गते बृहत् कशेली यात्रा आयोजना हुने फाउण्डेशनले जनाएको छ।
यो साइकल र्यालीले धार्मिक, सामाजिक, र पर्यटकीय सन्देशलाई एकसाथ प्रवाह गर्दै पोखराको सांस्कृतिक र पर्यटकीय महत्वलाई उजागर गर्ने अपेक्षा गरिएको छ।