कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : बिहिबार, बैशाख २५ २०८२


  • कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने

     

    पोखरा, २५ वैशाख । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा जेठको पहिलो हप्ता राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।

    ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा प्रतियोगिता हुन लागेको प्रतियोगिता संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद्  डा. तुलसी प्रभास खनालले जानकारी दिए ।

    उनका अनुसार देशभरबाट कक्षा ८ देखि १२ सम्मका विद्यार्थी उक्त वक्तृत्वकला प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । एसइई तथा कक्षा ११ को परीक्षा दिएका विद्यार्थी पनि प्रतियोगिता सहभागिता जनाउन पाउनेछन् ।

    प्रतियोगितामा  प्रथम हुनेलाई ५१ हजार १ सय ५१, द्वितीय हुनेलाई ४१ हजार १ सय ४१, तृतीय हुनेलाई ३१ हजार १ सय ३१ र सान्त्वना हुनेलाई २१ हजार १ सय २१ र विविध सम्मान गरिने छ ।

    प्रतियोगितामा देशका प्रख्यात पब्लिक स्पिकरहरूका विशेष प्रवचन र मोटीभेसन समेत रहेको खनालले जानकारी दिए ।

    उक्त प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त वाल प्रतिभा पाल्पाकी ओजस्वी आचार्य, कास्कीकी प्रेन्सा रेग्मी नवलपुरकी मनिषा पौडेललगायत अतिथि वक्ताको रूपमा रहेको र उनीहरूलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । प्रतियोगितामा ख्याति प्राप्त व्यक्तिहरूबाट मुल्याड्ढन हुने खनालले जानकारी दिए ।

    कास्की बाहिरका सहभागीलाई आतेजाते भाडा र बस्नको व्यवस्था साथै वैशाख मसान्तसम्म नाम दर्ता गरिसक्नु पर्ने छ ।

    अहिले सम्म काठमाडौँ, जुम्ला, रुकुम, रोल्पा, वाके, बर्दिया, झापा, धादिङ लगायत देशभरका जिल्लाबाट ५० जना बढीले नाम दर्ता गराएको खनालले जानकारी दिए ।

    प्रतियोगिताको समय ७ मिनेट रहेको छ भने वक्ताले सकारात्मक सन्देश दिने खालको हुनु पर्ने छ । प्रतियोगितामा एउटा विद्यालयबाट जति पनि सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।

    कोटिहोममा धर्म र संस्कृति मात्रै नभई शिक्षालाई जोड्न पनि यो प्रतियोगिता आयोजना गरेको उनले बताए ।

    ‘हाम्रा परम्परा, धर्म संस्कृतिलाई आजका युवामा जोड्ने ध्येयले नै यो प्रतियोगिता आयोजना गरिएको हो’ उनले भने,‘कोटिहोममा धर्म संस्कृति सँगै शिक्षालाई पनि जोडेर सबैको अपनत्व बनाउन यो प्रतियोगिता कोषेढुड्डा साबित हुनेछ ।’

    महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीले अध्यात्म, विज्ञान र सेवाको सङ्गम गण्डकी कोटिहोम भएकोले यो पुण्य ठाउँको दर्शन गर्न कोही नछुट्न आग्रह गरे ।

    कोटिहोममा यही वैशाख २७ गते शनिवार १ हजार भन्दा बढी बालिका सहभागी गराएर पूजा गरिने भएको छ ।  उक्त अवसरमा  तीनदेखि नौ वर्ष उमेर समूहका १ हजार बढी कन्या सहभागी गराएर पूजा गर्ने तयारी भइरहेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

    संयोजक ढकालका अनुसार ७० वर्षभन्दा माथि उमेर पुगेका १ हजार भन्दा बढी ज्येष्ठ नागरिकलाई पनि सम्मान गर्ने तयारी भएको छ ।

    कोटिहोममा यही वैशाख २९ गते चौरासी पूजन कार्यक्रम गरिने भएकाले आमाबुवाहरूको उपस्थितिमा, सवा करोड पार्थिव शिवलिड्डको निर्माण गरी भगवान् शिवको आशीर्वाद प्राप्त  गर्ने महत्त्वपूर्ण कर्म, १८ पुराण, ४ वेद र १०८ श्रीमदभागवत पाठ पारायण श्रवण साथै वेद, पुराण र भागवद मध्ये कुनै एकको कर्ता बन्ने अवसर, भूमि पूजनका लागि आफ्नो घरमा जमीनको एक मुठी माटो ल्याइ भूमि पूजन जस्तो महत्वपूर्ण कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।

    त्यसै गरी पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिका लागि आफ्नो घर परिवार तथा आफ्ना पितृहरूको नाममा २१ कोटि दीप प्रज्वलन गर्ने, तुला दान कर्मका लागि आफ्ना पूजनीय आमाबुवाहरूलाई तुला दानका लागि कोटिहोम स्थलमा सहभागी गराउने,  वैवाहीक जीवनमा जोडिन इच्छुक सबैलाई शुभ विवाह कार्यक्रम, रुद्राभिषेक महा अनुष्ठान, अति रुद्री, लुघुरुद्री आदि पुण्यमयी कर्ममा सहभागी हुने व्यवस्था रहेको छ ।

    कोटिहोममा ४ सय बढी व्रामणले दैनिक भगवानको नाममा आहुति अर्पण गरिरहेका छन्। पावन भूमिमा आयोजित १ सय कुण्डीय कोटिहोमको हवन कुण्डका लागि जौ, तिल, घिउ आदि हवन सामग्री दान गर्ने र हवन कुण्ड परिक्रममा गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसन व्यवस्थापक विष्णु थापाले जानकारी दिए । कोटिहोममा पवित्र कर्मकाण्ड र धार्मिक विधिअनुसार विधिपूर्वक सामूहिक व्रतबन्ध भएको छ ।

    कोटीहोममा सात दिन प्रवचन दिनका लागि वैशाख २८ देखि जेठ ३ गतेसम्म वाचन प्रवीण पं. दिनबन्धु पोखरेल,  जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी, दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराज सहभागी हुने महायज्ञ मूल आयोजक समितिका सह निर्देशक युवक लामिछानेले जानकारी दिए ।

    कोटीहोममा राष्ट्रिय भजन प्रतियोगिता, चर्चित भारतीय आचार्य प्रशान्त कृष्ण पंराकुशजीलगायत साधु सन्तमार्फत रामायण प्रवचन र वाचिका सुप्रियामार्फत दैनिक कथा वाचन जारी रहेको छ ।

    कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देव लीला, नृत्य लगायत प्रस्तुति रहेका छन् ।

    पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ ।  कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ ।

    कोटिहोममा सङ्घीय तथा प्रदेश सांसद जनप्रतिनिधि, राजनितिक दलका नेता, सञ्चारकर्मी भक्तजनको उपस्थिति दिनहुँ बढ्दै गएको छ ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend