पोखरा ।नवौं प्रधानमन्त्री एनभिए कप पुरुष तथा महिला भलिबल लिममा पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस क्लबले उपाधि हात पारेका छन् । पोखरा रंगशाला स्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको भलिबल लिममा हेल्प नेपाल स्पोर्टस क्लब पाचौ पटकको विजेता बन्न सफल भयो ।
नेपाल भलिबलको संघको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत बिहीबार भएको फाइनलमा हेल्प नेपालले गण्डकी प्रदेशलाई पराजित गर्दै उपाधि चुमेका हुन् । हेल्प नेपालले सानदार पुनरागमन गर्दै घरेलु टोली गण्डकी प्रदेशलाई ३–२ ले हराउँदै उपाधि आफ्नो पोल्टामा पारेको हो ।यो जितमा हेल्प नेपाल माल्दिभ्समा हुने काभा क्लब च्याम्पियनसिपमा समेत छनोट भएको छ ।
पोखराको कभर्ड हलमा गण्डकी गत वर्षको फाइनलमा हारको बदला लिने दाउमा थियो । सोही अनुरुप उत्कृष्ट सुरुवात गर्यो । २५–२० र २७–२५ ले लगातार २ सेट जित्दै जितको नजिक पुगेको थियो । तेस्रो सेट २२–२५ ले गुमाएको गण्डकीलाई चौंथो सेटमा खेलाडीको चोटले समस्यामा पार्यो । त्यसपछि हेल्प नेपालले सानदार कमब्याक गर्दै बाँकी सेट २५–१४ र १५–८ ले आफ्नो पक्षमा पारेको थियो ।
पुरुष तर्फका विजेता हेल्प नेपालले ८ लाख रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरे । दोस्रो भएका गण्डकी ले ४ लाख ट्रफी, मेडल र प्रमाणपत्र पाए । यस्तै तेस्रो हुने पुलिस क्लबले २ लाख रुपैयाँ हात पारे । नेपाल भलिबल संघको आयोजनामा जेठ ८ गते सुरु भएको लिगमा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता थियो ।