काठमाडौँ : राजस्व संकलन गत वर्षको तुलनामा करिब १६ अर्बले बढेको छ।
असोज २४ गतेसम्म सरकारले १ खर्ब ९७ अर्ब राजस्व संकलन गरेको छ, जुन राजस्व लक्ष्यको १३.८७ प्रतिशत हो। सरकारले चालु आर्थिक वर्ष १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ।
गत आर्थिक वर्षको यसै अवधिमा सरकारले १ खर्ब ८१ अर्ब ५९ करोड रुपैयाँ मात्रै राजस्व संकलन गरेको थियो।
गत वर्ष १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा समीक्षा अवधिमा १२.९४ प्रतिशत असुली भएको थियो।
गत वर्षको यसै अवधिमा सरकारले कर राजस्वतर्फ १ खर्ब ६६ अर्ब ८९ करोड रुपैयाँ संकलन गरेको चालु आर्थिक वर्ष १ खर्ब ८२ अर्ब रुपैयाँ असुलउपर भएको छ।
यस्तै, गैरकरतर्फ गतवर्ष १४ अर्ब ७९ करोड रुपैयाँ असुली गरेकोमा सरकारले चालु आर्थिक वर्षको यस अवधिमा १५ अर्ब ३३ करोड रुपैयाँ उठाएको छ।
गत वर्षको तुलनामा सरकारी राजस्व र खर्च बढेकाले अर्थतन्त्र चलायमान हुन थालेको छ। सरकारी खर्च बढ्नाले अर्थतन्त्रमा मागको सृजना गर्ने र आयात बढ्ने अपेक्षा गरिएको छ।
असोजमा आएर राजस्व असुली बढ्नुले व्यवसायिक गतिविधि बढ्न थालेको संकेतको रुपमा हेर्न थालिएको छ। साउन र भदौमा आयात घट्दा राजस्व संकलन घटेपनि असोज महिनामा आएर राजस्व असुली बढेको छ।
आर्थिक ऐनमार्फत विलासी वस्तुमा कर लगाइएको, भ्याट तथा अन्तस्शुल्क छुट सूची घटाइएको, हवाई क्षेत्रमा भ्याट लगाइएको र वैदेशिक अध्ययन तथा भ्रमणमा कर बढाइएकाले पनि सरकारको राजस्व संकलन बढेको अनुमान गरिएको छ।