मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : आइतबार, असार १ २०८२


  • मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति

     

    नवलपरासीको मध्यविन्दु प्रादेशिक अस्पताल १ सय शय्यामा स्तरोन्नति भएको छ।अस्पतालमा विशेषज्ञ चिकित्सक र आवश्यक जनशक्ति थप गर्ने सहमति भएको छ, आईसीयू र एनेस्थेसिया जस्ता सेवाहरू थपिनेछन्।नयाँ भवन निर्माण अन्तिम चरणमा र जग्गा अस्पतालको नाममा ल्याउने प्रक्रिया चलिरहेको छ, दीर्घकालीन योजनाहरू पनि छन्।

    नवलपरासी । नवलपरासी बर्दघाट–सुस्तापूर्व को कावासोती–१६ डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल एक सय शय्यामा स्तरोन्नति भएको छ । जिल्ला अस्पतालका रूपमा १५ शय्याबाट सेवा सुरु गरेको अस्पताल गण्डकी प्रदेशको प्रादेशिक अस्पतालमा परिणत भएसँगै यही जेठ १२ गतेबाट एक सय शय्यामा स्तरोन्नति भएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रमेश आचार्यका अनुसार गण्डकी प्रदेशको मन्त्रिपरिषद् निर्णयबाट सय शय्यामा स्तरोन्नति भएको अस्पतालको दरबन्दी, जनशक्ति र पूर्वाधार गण्डकी प्रदेश सरकारबाट थप हुँदै जाने सहमति भएको छ । अहिले अस्पतालमा ९९ जनाको दरबन्दी रहेको भन्दै आचार्यले आगामी चार वर्षभित्र एक सय शय्यालाई आवश्यक पर्ने दरबन्दी थप गर्दै लैजाने सहमति भएको बताए । अस्पतालले सुरुवाती अवस्थामा २२ विशेषज्ञ चिकित्सक र १५ मेडिकल अधिकृतको दरबन्दी पुर्‍याउने गरी गण्डकी प्रदेश सरकारसँग सम्झौता गरेको भन्दै डा आचार्यले सुरुवाती अवस्थामा अप्राविधिक जनशक्ति स्थानीय स्रोतसाधनबाट राखिने बताए ।

    अस्पतालमा अहिले फिजिसियन, नाक, कान, घाँटी, आँखालगायतका विभागमा चिकित्सकको दरबन्दी रहेको भन्दै केही दिनमा छालाका चिकित्सकको दरबन्दी कायम गराउने उनले बताए । अस्पतालमा आइसियु तथा एनेस्थेसिया विभाग नभएको भन्दै यी सुविधा थप गरिएको अवस्थामा बिरामी भएर भरतपुर जानुपर्ने अवस्थाको अन्त्य हुने डा आचार्यले बताए । अस्पतालले तीन वटा अत्याधुनिक मोडुलर अपरेसन थिएटर निर्माण गरेको भए पनि विद्युत् आपूर्तिमा समस्या भएका कारण सञ्चालनमा ल्याउन नसकिएको उनले बताए।

    पत्रकार सम्मेलन अस्पतालका व्यवस्थापन समिति अध्यक्ष बालकृष्ण घिमिरेले अस्पतालमा ट्रमा युनिट थप गर्ने तयारी भइरहेको जानकारी दिए । अस्पतालको नयाँ भवन निर्माणाधीन अवस्थामा रहेको भन्दै यही असार मसान्तसम्म भवन निर्माण सम्पन्न गरी नयाँ भवनबाट सबै सेवा सुविधा प्रवाह गर्ने तयारी भइरहेको घिमिरेले बताए । अस्पतालले दुई सिफ्टमा डायलिसिस सेवा प्रदान गरिरहेको भन्दै एक सिफ्ट थप गरेर बिरामीलाई सहज रूपमा डायलिसिस सेवा प्रदान गर्ने गरी काम अगाडि बढिरहेको अध्यक्ष घिमिरेको भनाइ छ ।

    अस्पताल सञ्चालनमा रहेको ठाउँको जमिन वनको नाममा रहेको भन्दै उनले त्यस जग्गालाई अस्पतालको नाममा ल्याउने गरी काम भइरहेको बताए । वन मन्त्रालयमा गएर फाइल रोकिएको भन्दै अस्पताल फैलिएको १० दशमलव ५९ हेक्टर क्षेत्रफलमध्ये सुरुमा दुई दशमलव दुई हेक्टर क्षेत्रफल अस्पतालका नाममा ल्याउने गरी काम भइरहेको अध्यक्ष घिमिरेले बताए । अस्पतालको दीर्घकालीन योजना सुनाउँदै घिमिरेले आफ्नै रक्तसञ्चार केन्द्र, पालिकामा स्वास्थ्य शिविर, शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको उनले बताए।

     

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend