आलु बिक्री गर्न कोसेली घर सञ्चालन


मयुर टाइम्स न्युज
  • प्रकाशित मिति : सोमबार, असार ३० २०८२


  • आलु बिक्री गर्न कोसेली घर सञ्चालन

     

    खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाका किसानले बाँझो जमिन उपयोग गरेर छ हजार केजी आलु उत्पादन गरेको छ । आलु खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०८१र८२ मा उपलब्ध गराएको रु १५ लाख सशर्त बजेटमध्ये रु सात लाख लगानी गरेर गाउँपालिकाले यस वर्ष छ हजार केजीभन्दा बढी आलु फलाएको हो ।

    गाउँपालिकाले वडा नं ४ डम्बर्खु शिवालयको भञ्ज्याङखर्कमा रहेको करिब ६१ रोपनी सार्वजनिक बाँझो उपयोग गरेर गत फागुनमा आलु खेती लगाएको थियो । प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी स्थानीयवासीले यही असार १२ देखि २७ गतेसम्म लगाएर गाउँपालिकाले रोपेको आलु खनिएको गाउँपालिकाका रोजगार शाखा प्रमुख विज्ञान राईले जानकारी दिए ।

    उत्पादित आलुलाई गाउँपालिकाले चिसापानी बजारमा सञ्चालन गरेको कोसेली घरमा भण्डार गरिएको छ । कोसेली घरमा भण्डारण गरेर राखिएको आलु उपभोक्तालाई बिक्री गर्न गाउँपालिकाले असार १८ गतेदेखि सुपथ मूल्यको पसल खुल्ला गरेको छ ।

    स्थानीय राजस्व परामर्श समितिको यही असार १६ गते बसेको बैठकले आलुको मूल्य प्रतिकेजी रु ५५ निर्धारण गरेर कोसेली घरबाटै तोकिएको मूल्यमा सुरु गरिएको गाउँपालिकाका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिए । “भण्डारण गरिएको आलु कृषि शाखाबाट कुपन लिएर आउने ग्राहकलाई कुपनका आधारमा बिक्री गर्ने व्यवस्था मिलाइएको छ । हालसम्म एक हजार १०६ केजी आलु बिक्री भइसक्यो”, उनले भने, “आलु बिक्रीबाट आएको आम्दानीलाई गाउँपालिकाको आन्तरिक स्रोतमा जम्मा गर्ने योजना बनाएका छौँ । बाँझो जमिन उपयोग गरेर सुरु गरिएको आलु खेती प्रवर्द्धन कार्यक्रमले उत्पादनमा जोड दिनुपर्छ भन्ने सिकाइ भएको छ ।”

    आलु खेती प्रवर्द्धनअन्तर्गत कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले उपलब्ध गराएको रु १५ लाख बजेटमध्ये रु आठ लाखमा ११ टन आलुको बीउ खरिद गरेर किसानलाई निःशुल्क वितरण गरिएको गाउँपालिकाले जनाएको छ । किसानको मागका आधारमा गाउँपालिकाले निःशुल्क आलुको बीउ वितरण गरेपछि बाँकी रहेको रु सात लाख बजेटका साथै जनप्रतिनिधि, कर्मचारी र स्थानीयले श्रमदान गरेर बाँझो जमिन रहेको भञ्ज्याङखर्कमा आलु खेती लगाएको हो ।

    वर्षौँदेखि बाँझिएर उपयोगविहीन भएको सार्वजनिक जग्गा फोरेर आलु खेती लगाउनका लागि गाउँपालिकाको दुई वटा मिनीटिलर प्रयोग गरिएको थियो । यस्तै, बाँझो जमिन खन्न, आलुको बीउ रोप्न र फलेको आलु निकाल्नका लागि खन्न प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी स्थानीयलाई परिचालन गरिएको थियो ।

    गाउँपालिकाले सञ्चालन गरेको आलु खेतीमा रु तीन लाख बराबरको श्रमदान जुटाइएको गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दीक्षा’ले जानकारी दिइन् । “भज्याङखर्कमा खुमल सेतो प्रजातिको र स्थानीय जातको आलु रोपिएको थियो, आलुसँगै मकै खेती पनि लगाइएको छ”, उनले भनिन्, “उत्पादित आलुलाई ग्रेडिङ गर्दै साना साना दानालाई भने बीउका रूपमा राख्छौँ । आलुको बीउलाई चिसापानीमै निर्माण गरिएको आगामी साउनदेखि सञ्चालनमा आउने चिस्यान केन्द्रमा भण्डार गर्ने तयारी गरिएको छ ।”

    छिमेकी जिल्ला भोजपुरको सिमानामा रहेको ठूलाठुला घाँसे मैदान रहेको भञ्ज्याङखर्कमा आगामी आर्थिक वर्ष पनि आलु खेती लगाउने योजना बनाइएको गाउँपालिकाले जनाएको छ । आलु खेतीका लागि मल उत्पादन गर्न वडा कार्यालय डम्बर्खु शिवालयले भैँसी खरिदका लागि बजेटसमेत विनियोजन गरेको छ ।

    जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने यो गाउँपालिकाले कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर १७औँ गाउँभाबाट आव २०८२र८३ का लागि नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ । निर्वाहमुखी खेती प्रणाली अपनाउँदै आएका स्थानीय नागरिकलाई प्रोत्साहन रकम उपलब्ध गराउँदै व्यावसायिक कृषि प्रणालीमा लैजान उत्पादनमा जोड दिने किसिमको नीति तथा कार्यक्रम बनाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय निरौलाले जानकारी दिए।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    हाम्रो बारेमा


    comming soon

    सम्पर्क


    फोन नं. ९८५६०१२०६८,९८४६७३१८६८,

    ९८४६७३१८६७

     

    दर्ता नंः २३७२७२/०७६/०७७
    सुचना विभाग दर्ता नंः २९०७–०७८/०७९
    प्रेस काउन्सिल दर्ता नंः १७५/०७८/७९

    हाम्रो टिम


    अध्यक्षः प्रविन मगर
    संचालकः प्राश्ना मानन्धर मगर
    सम्पादकः शिशिर ज्ञवाली
    सह–सम्पादकः प्रविन  थापा मगर
    प्राश्ना मानन्धर मगर

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to mayurtimesnews.com | Site By : SobizTrend