तनहुँ : जिल्लाका स्थानीय तहले चिस्यान केन्द्र निर्माणलाई प्राथामिकता दिएका छन् ।
फलफूल र तरकारी खेतीमा पकेट क्षेत्र रहेका पालिकाले चिस्यान केन्द्र निर्माणमा जोड दिएका हुन् । व्यास र शुक्लागण्डकी नगरपालिका एवं म्याग्दे गाउँपालिकामा निर्माणाधीन चिस्यान केन्द्र सञ्चालनको तयारीमा रहेको छ ।
शुक्लागण्डकी नगरपालिका–८ लालिममा एक सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गरिएको छ । नगरपालिकाको आन्तरिक स्रोतबाट रु तीन करोडको लगानीमा उक्त शीतभण्डार निर्माण गरिएको हो । शुक्लागण्डकीको वडा नं ८ आलु र वडा नं ११ सुन्तला खेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको छ ।
नगरपालिकाले आलु र सुन्तला खेतीलाई मध्यनजर गर्दै शीतभण्डार निर्माण गरेको इन्जिनियर तारापति भट्टराईले जानकारी दिनुभयो । चिस्यान केन्द्र नहुँदा जिल्लाका कृषकले उत्पादन गरेका कृषि उपज भण्डारणका लागि लामो दूरी र महँगो शुल्क तिर्नुपर्ने भएकाले चिस्यान केन्द्र निर्माण गरिएको उहाँले बताउनुभयो ।
करिब पाँच रोपनी सार्वजनिक जग्गामा शीतभण्डार निर्माण गरिएको हो । शीतभण्डार बनेसँगै यहाँका कृषकले उत्पादन गरेका कृषि उपज भण्डारणका लागि पोखरा लैजानुपर्ने बाध्यता हट्ने छ ।
“भवन बनिसकेको छ, निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी रहेकाले सञ्चालन प्रक्रिया रोकिएको हो, असोज मसान्तदेखि सञ्चालनमा ल्याउने तयारी गरिरहेका छौँ”, इन्जिनियर भट्टराईले भन्नुभयो ।