मन्थली : जिल्लाको खाँडदेवी गाउँपालिका–३ भिरपानीमा निर्माणाधीन सिँचाइ आयोजना छ वर्षदेखि अलपत्र परेको छ । गाउँपालिकाको सित्खा फाँट सिँचाइ गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘सुनकोसी–सित्खा लिफ्ट सिँचाइ आयोजना’ छ वर्षदेखि अलपत्र परेको हो ।
बागमती प्रदेश सरकारले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय रामेछापमार्फत सञ्चालन गरेको उक्त आयोजना विसं २०७७ पुस मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी विसं २०७५ असार २९ गते सम्झौता भएको थियो । रू एक करोड २९ लाख दुई हजार चार सय ४८ मा ठोक्का सम्झौता भएको कार्यालयले जनाएको छ ।
आयोजनाको करिब ६५ प्रतिशत काम सम्पन्न गरी निर्माण व्यवसायीले रू ८३ लाख १७ हजार चार सय ३३ भक्तानीसमेत लिएपछि बाँकी काम अलपत्र भएको कार्यालयका इञ्जिनियर दिवाकर मण्डलले जानकारी दिनुभयो ।
सिँचाइ अभावका कारण वडा नं ३ सित्खामा हजारौँ रोपनी खेतीयोग्य जमिन बाँझै रहेको स्थानीय गणेश माझीले बताउनुभयो । खेत भन्दामुनी सुनकोसी नदी बगिरहे पनि आफ्नो खेतमा सिँचाइ सुविधा नहुँदा खेतीयोग्य जमिन बाँझै रहेको किसानको भनाइ थियो । किसानले माग गरेपछि सोही आधारमा प्रदेश सरकारबाट आयोजना आएको भन्दै माझीले आयोजना सम्पन्न होला र सित्खा फाँटमा बाह्रैमहिना खेती गरौँला भन्ने सपना अधुरै रहेको बताउनुभयो ।
स्थानीय रामगोपाल श्रेष्ठका अनुसार आयोजना निर्माणस्थल नजिक पानी सङ्कलनका लागि निर्माण गरिएको पोखरीसमेत सुकेर चिराचिरा परिसकेको छ । “जिआइ पाइप राख्नुपर्नेमा पोलिथिन पाइप राखिएको छ । त्यो पनि अलपत्र छोडिदा बिग्रिसकेको छ”, उहाँले भन्नुभयो ।
निर्माण व्यवसायीले आयोजनाको काम अलपत्र छोडेपछि काम अघि बढाउन जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयलाई पटकपटक अनुरोध गर्दा पनि कार्यालयले चासो नदिएको स्थानीय कृष्णबहादुर केसीले गुनासो गर्नुभयो । कामको जिम्मेवारी लिएका ठेकदारले कहिले काम गरेजस्तो गर्ने, कहिले आलटाल गर्ने गरेकाले आयोजना अलपत्र परेको उहाँको भनाइ थियो ।