काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलको शुक्रबार सम्पन्न १७औं वार्षिक साधारणसभापछि बसेको सञ्चालक समितिको बैठकले प्रवलजंग पाण्डेलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ।
पाण्डे यसअघि बैंकको सञ्चालक थिए। उनी मर्जर तथा एक्विजिसन समितिको सदस्य भएको बेला बैंकले तिनाउ मिसन विकास बैंक, सृजना फाइनान्स र सहयोगी विकास बैंकलाई प्राप्ति गरेको थियो।
बैंकका संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्दै अध्यक्ष बनेका पाण्डे बैंकका प्रमुख लगानीकर्ता पनि हुन्। अध्यक्ष चयनपछि उनले बैंकलाई नयाँ उचाइमा पुर्याउने प्रतिवद्धता जनाएका छन्। उनले बैंकको संस्थागत सुशासनलाई सुदृढ बनाउँदै नयाँ प्रविधिमा आधारित बैंकिङलाई प्राथमिकतामा राख्ने र सेवा बिस्तार गर्ने बताए।
यसअघि बैंकको अध्यक्षमा राजनसिंह भण्डारी थिए। त्यसअघि शंकर शर्मा अध्यक्ष भएका थिए।
उत्पादनमूलक उद्योगबाट देशको आर्थिक विकास हुन्छ भन्ने पाण्डेलाई लाग्छ। उनी कसमस सिमेन्टका निर्देशक पनि हुन्। इस्टन कसमसमा पनि उनी निर्देशक छन्।